भक्तपुर । अविरल वर्षाले भक्तपुर पूरै डुबानमा परेको छ । पहिरो र बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् ।
भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ पलासेमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोट सानि त्रिबेणि गा पा– ४ घर भइ हाल सुनपा ९ पलासे बस्ने गणेश बमकी श्रीमती २४ वर्षीया दमिला शाहि, साली १४ वर्षीया मनिसा शाहि र ४ वर्षीया छोरी प्रिया बम रहेका छन् । मृत्यु भएकी दमिला ९ महिनाको गर्भवती रहेको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष भगवान खत्रीका अनुसार मृत्यु हुनेमा कालिकोटबाट मजदुरी गर्न आएकाहरू रहेका छन् । बिहान अस्थायी टहरामा बसिराखेको अवस्थामा माथिबाट खसेको पहिरोले उनिहरूलाई पुरेको अध्यक्ष खत्रीले बताए ।
उनीहरूको शव केही बेर अघि मात्र फेला पारिएको बागमती प्रदेशका स्वास्थमन्त्री किरण थापाले बताए ।
सोही नगरपालिका–८ आशापुरीमा पनि पहिरोमा परेर दुई जना वेपत्ता भएका छन् । उता दुई जना वेपत्ता भएको आशापुरीमा पुग्न पहिरोका कारण कठिनाई भइरहेको वडाध्यक्ष पुष्पराज बस्नेतले बताए ।