त्रिवेणी । जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमक २९ हजार १ सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कूल ३१ हजार ६ सय २० लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम निकासा भइसकेको छ ।
जिल्लाका छवटै पालिकाका २९ हजार १ सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् । उनका अनुसार सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका ९ हजार ७ सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा १ हजार ५ सय ४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् ।
त्यस्तै सानीभेरी गाउँपालिकामा ५ हजार ७ सय ६१, त्रिवेणी गाउँपालिकामा ४ हजार १ सय १५, चौरजहारी नगरपालिकामा ६ हजार २ सय ७९ र बाँफीकोट गाउँपालिकामा १ हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेको उनको भनाइ छ ।
उनका अनुसार छवटै स्थानीय तहमा हालसम्म २५ हजार रुपैयाँका दरले ७२ करोड ८३ लाख २५ हजार रुपैयाँ रकम लाभग्राहीले प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ३१ हजार ६ सय २० लाभग्राहीको लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा ७९ करोड ५ लाख रुपैयाँ पठाएको छ ।
जिल्लामा हालसम्म २४ हजार ७ सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने ५ हजार ९ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए । जिल्ला अझै २ हजार ४ सय ८७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ ।