काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) बेलुका भारत र इङ्ल्याण्ड खेल्दैछन् । नेपाली समयानुसार बेलुका ८ः१५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली फाइनल प्रवेशका लागि संघर्ष गर्नेछन् ।
भारत सुपर–८ समूह ‘१’ को विजेताको रुपमा सेमिफाइनल पुगेको हो । यस्तै, इङ्ल्याण्ड समूह ‘२’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । इङ्ल्याण्ड समुह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
भारतले २००७ को टी-२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । सन् २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङ्ल्याण्डले भने सन् २०१० र २०२२ को विश्वकप जितेको थियो ।
भारत र इङ्ल्याण्डबीच अहिलेसम्म २३ टी-२० खेल भएका छन् । जसमा भारतले १२ र इङ्ल्याण्डले ११ खेल जितेका छन् ।