काठमाडौँ । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर–८ चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले पाखा लगाउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो । समुह सी बाट यसअघि सबै तीन खेल जित्दै वेस्ट इन्डिज सुपर–८ चरणमा पुगिसकेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनीले १९.५ ओभरमा अलआउट हुदै ९५ रन मात्र बनाएको थियो । पपुवा न्युगिनीका लागि किपलिन दोरिगाले सर्वाधिक २७ रन बनाए । अली नाओले १३ रन जोडे । ओपनर टोनी उराले ११ रन थपे । पपुवा न्यु गिनीका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका बलर फजालहक फारुकीले तीन विकेट लिए । उनले चार ओभरमा केवल १६ रन खर्चिए । नवीन उल हकले पनि दुई विकेट हात पारे । नुर अहमदले एक विकेट लिए ।अफगानिस्तानले १५.१ ओभरमा तीन विकेट गुमाएर एक सय एक रन बनाउँदै विजय लक्ष्य पार गर्यो । अफगानिस्तानका तेस्रो नम्बरमा क्रिजमा आएका गुलबदिन नाइबले अविजित ४९ रनको योगदान गरे ।
उनले केवल ३६ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान मोहम्मद नाबीले अविजित १६ रन जोडे । चौथो नम्बरका ब्याट्सम्यान अजमतुल्लाह ओमरजाई १३ रन बनाउँदै आउट भए ।ओपनर रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अर्का ओपनर इब्राहिम जदरान भने शून्य रनमै पेभेलियन फर्किएका थिए ।
अफगानिस्तान र वेस्ट इन्डिज सुपर–८ चरणमा पुगेसंगै समूह ‘सी’ बाट उपाधि दावेदार न्युजिल्यान्डसहित पपुवा न्युगिनी र युगान्डा बाहिरिएका छन् । अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई एक सय २५ रनले र दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई ८४ रनले हराएको थियो ।
समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अङ्कसहित पहिलो र समान खेलबाट समान अङ्क बटुलेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन् । आयोजक वेस्ट इन्डिजभन्दा अफगानिस्तान नेट रन रेटमा अगाडि छ ।
वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र हो । सो समूहमा अब न्युजिल्यान्डले युगान्डा र पपुवा न्युगिनी संग खेल्न बाँकी रहेको छ भने सुपर ८ मा पुगिसेका वेस्ट इन्डिज र अफगानिस्तानबीचको खेलबाट समुह बिजेताको टुंगो लाग्ने छ ।