खाँदबारी । सङ्खुवासभामा पहिराले पुरिएर अरूण तेस्रोमा कार्यरत एक मजदुरकाे ज्यान गएकाे छ । थप दुई मजदुर गम्भीर घाइते भएका छन् । मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको हो ।
घाइते हुनेमा मकवानपुर घर भएका उमेश कार्की र गोविन्द थारू रहेको प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला जिल्लाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरो आएर उनीहरूलाई पुरेको बताइएको छ । पहिरोले जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएकाे जनाइएको छ।