काठमाडौं । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । बिहीबार ग्रान्ड प्रिएरीमा भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन जोडेको थियो। त्यसपछि ब्याटिङ गरेको पाकिस्तानले १३ रन मात्र जोड्न सक्यो।
त्यसअघि २० ओभरमा पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन जोडेको थियो। पाकिस्तानको लागि कप्तान बाबर आजमले ४४ र सादब खानले ४० रन जोड्न सके।
१६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै सुपर ओभरमा पुर्याएका थिए ।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले ५० रन र आरोन जोन्सले ३६ रन बनाए। लगातार दोस्रो जितेपछि अमेरिकाको सुपर–८ सम्भावना बलियो भएको छ।
पहिलो खेलमा नै पराजित भएपछि पाकिस्तानलाई सुपर–८ मा पुग्न दबाब पुगेको छ। अब पाकिस्तानले दोस्रो खेल चिरप्रतिद्वन्द्वी भारतसँग खेल्दैछ। भारतले पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो।