काठमाडौं । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा अफगानिस्तानले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको छ। १ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डा ५८ रनमा समेटिएपछि १ सय २५ रनका ेहार व्यहोरेको हो ।
युगान्डाका लागि रोबिन्सन ओवुयाको १४ रन नै सर्वाधिक रह्यो। रियाज अलि साहले ११ रन बनाए । अन्य कुनै ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन्। अफगानिस्तानका फजलहक फारुकीले ५ विकेट लिए। नविन उल हक र रासिद खानले २–२ विकेट लिए।
त्यसअघि गुयनामा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले पहिलो विकेटको लागि एक सय ५४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो।
गुर्बाजले ४५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ७६ रन बनाए। इब्राहिमले ४६ बलमा ९ चौका र एक छक्का हिर्काएका थिए । पहिलो विकेटका लागि राम्रो साझेदारी भएपनि अफगानिस्तानले त्यसपछि राम्रो ब्याटिङ गर्न सकेन। २९ रन जोड्दा थप ४ विकेट गुमाएको थियो।
युगान्डाका ब्रिआन मासादा र कोस्मास केयुताले सर्वाधिक समान २ विकेट लिए। अल्पेस रामजानीले एक विकेट हात पारे। समूह ‘सी’ मा अफगानिस्तान र युगान्डासँगै वेष्ट इन्डिज र न्युजिल्यान्ड तथा पपुवा न्युगिनी छन्। प्रतियोगिता अन्तरगत आज इंग्लयाण्ड र स्कटल्याण्ड तथा नेपाल र नेदरल्याण्ड्स आमने सामने हुनेछन्।