न्युयोर्क । टी–२० विश्वकप अन्तरगत समूह डीको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । अमेरिकामा गएराती सम्मपन्न खेलमा ७८ रनको झिनो लक्ष्य पाएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा सो लक्ष्य ४ विकेट गुुमाउँदै पुुरा गरेको हो ।
दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले नटआउट रहँदै १९ रन जोडे । ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन जोडे ।
टस जितेर पहिले ब्याटिङ राजेको श्रीलंका दक्षिण अफ्रिकाका बलरसामु निरीह बनेको थियो । शुरु देखिनै धरमराएको श्रीलंकाको टिम १९.१ ओभरमा मात्र ७७ रनमा समेटिएको थियो ।
श्रीलंकाको इनिङ्सलाई ध्वस्त बनाउन दक्षिण अफ्रिकाका एनरिज नोर्टजेले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा मात्र ७ रन खर्चिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले २–२ विकेट हात पारे ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ३० बलमा सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन जोडे । कामिन्डु मेन्डिसले १५ बलमा ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।