काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ। आइतबार राती सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले तेश्रो पटक उपाधि उचालेको हो। कोलकाताले यसअघि उसले २०१२ र २०१४ मा उपाधि जितेको थियो।
चेन्नाईमा सम्पन्न फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०.३ ओभरमै पूरा गरेको थियो । कोलकातालाई उपाधि दिलाउने क्रममा वेंकटेश ऐयरले अर्धशतक प्रहार गरे। २६ बलको सामना गरेका ऐयरले ४ चौका र ३ छक्काको मद्यतमा ५२ रन बनाएर नट आउट रहे।
ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रन जोड्दै उत्कृष्ठ शुरुवात गरेका थिए । सुनिल नारायण ६ रन जोड्दै बाहिरिएका थिए भने कप्तान श्रेयस ऐयर पनि ६ रनमै नट आउट रहे। हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले समान एक विकेट लिएका थिए।
एम ए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको हैदरावादका कुुनैपनि खेलाडीले खुलेर खेल्न नसक्दा १८.३ ओभरमा ११३ रनमै अल आउट भएको थियो। हैदरावादलाई सामान्य स्कोरमा रोक्ने क्रममा आन्द्रे रसेलले ३ विकेट लिए। मिचेल स्टार्क र हर्षित राणाले समान दुुई विकेट लिएका थिए भने वैभव अरोरा, सुनिल नारायण र वरूण चक्रवर्थीले एक–एक विकेट लिए।
हैदरावादका ओपनर अभिषेक शर्मा २ रन तथा अर्का ओपनर ट्राविस हेड शून्यमा आउट भएपछि दवावमा परेको थियो। शर्मालाई मिचेल स्टार्कले बोल्ड गरेका थिए। राहुल त्रिपाठी ९, शहबाज सरिफ ८, अब्दुल शामद ४, जयदेव उनाडकट ४ रन बनाएर आउट भए।
हैदरावादका लागि सबैभन्दा धेरै रन कप्तान प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए। ऐडेन मक्रमले २३ बलमा १ चौका र १ छक्का प्रहार गरी २० रन जोडे। हेनरिच क्लासेन १७ बलमा १ चौका प्रहार गरी १६ रन बनाएर आउट हुँदा नितिश कुमार रेड्डीले १३ रन जोडे।
जारी आइपिएलमा उत्कृष्ट लयमा रहेको हैदरावाद कोलकातासंग भने खुलेर खेल्न सकेन । यसै सिजनमा आइपिएल इतिहासकै सर्वाधिक २८७ रन बनाएर कीर्तिमान बनाएको हैदारावाद पहिलो क्वालीफायरमा पनि कोलकातासंग आठ विकेटले नै पराजित भएको थियो ।