काठमाडौं । अमेरिकामा भएको पहिलो अभ्यास खेलमा नेपाल बिजयी भएको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले पराजित गरेको हो।
नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याएको ह्युस्टन ८ विकेट गुमाएर १४० रनमात्रै जोड्न सकेको थियो । नेपालका लागि सोमपाल कामी र करण केसीले समान दुुई विकेट लिँदा रोहित पौडेल, अभिनाष बोहरा, सागर ढकाल र कुशल भूर्तेलले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल साहले सर्वाधिक ४७ रन बनाएका थिए। कप्तान रोहित पौडेलले २३, सन्दीप जोराले २१, गुल्सन झाले २०, कुशल मल्लले १२ र करण केसीले नट आउट १० रन जोडेका थिए। नेपालको शुुरुवात भने खराव रहेको थियो । ओपनर आशिफ शेख ४ रन बनाएर आउट हुँदा कुशल भूर्तेल एक रनमै पेभिलियन फर्केका थिए।
ह्युस्टनसँग नेपालले आइतबार बिहान दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ। नेपालले जेठ १४ मा क्यानडा र जेठ १७ मा अमेरिकासँग खेल्नेछ। टी–२० विश्वकप २०२४ मा नेपाल समूह ुडीु मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा खेल्ने छ । बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।
पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको यो विश्वकपमा २० टोलीले सहभागिता रहनेछ । विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। चार समूहका शीर्ष २–२ टोली गरी कुल ८ टोली सुपर ८ मा पुग्नेछन्। सुपर ८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर २ को दुई समूहका शीर्ष २२ टोली सेमिफाइनलमा पुग्नेछन्।
नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।