काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्दैछन् । पहिलो क्वालिफायरमा पराजित भएको हैदरावाद र इलिमिनेटरमा विजयी भएको राजस्थानले दोस्रो क्वालिफायरमा भेट पक्का गरेका हुन् । यो खेल नेपाली समय अनुसार शुक्रबार साँझ ७ः४५ बजे चेन्नईमा हुनेछ ।
हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको थियो । सुरुमा ब्याटिङ गरेको हैदरावादले दिएको १६० रनको चुनौती कोलकाताले १३.४ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो । सुरुमा ब्याटिङ गरेको आरसिबीले दिएको १७३ रनको रनको चुनौती ६ बल बाँकी हुँदा राजस्थानले १७४ रन बनाएर पूरा गरेको थियो ।
दोस्रो क्वालिफायरमा विजयी टिमले आईपिएलको उपाधिका लागि कोलकातासँग प्रतिस्पर्धा गर्नेछ । आईपिएलको फाइनल आइतबार हुँदैछ ।