साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

    ढोरपाटन । बागलुङको जैमनी नगरपालिका–१ जैमिनीधामबाट पर्वतको फलेबास नगरपालिकाको देवीस्थान जोड्ने मोटर गुड्ने पुल अलपत्र परेको छ । २०७३ साल असोज ९ गते ३० महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । 

    कालीगण्डकी नदीमाथि बन्न थालेको १ सय मिटर लामो मोटर गुड्ने पुल रसुवारश्री गीतारफेवा जेभीले पटकपटक म्याद थप गरे पनि हालसम्म काम पूरा गर्न सकेको छैन । पुल निर्माणका लागि १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा सम्झौता भएको थियो ।

    आठ वर्षसम्म पनि पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । निर्माण कम्पनीले निर्धारित समयमा काम गरेको भए २०७६ साल असारमा बनिसक्ने थियो । अझै पुलको तीन खण्डमध्ये एक खण्डको ढलान हुनै बाँकी रहेको जिल्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म पुलको भौतिक ८२ र वित्तीय ८६ प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म सक्ने उनको भनाइ छ । 

    इञ्जिनियर अधिकारीले भने, “यो पुल पहिले नै सकिनुपर्ने हो, निर्माण कम्पनीले विभिन्न समस्या देखाएर अहिलेसम्म काम सकेको छैन, अहिले काम गरिरहेको छ, अगामी असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको छ, धेरैपटक म्याद थप गरेको हुँदा यसपटक सक्छ भन्ने अपेक्षा छ ।”

    पुलले कालीगण्डकी करिडोरसँग पर्वतको फलेबासलाई जोड्छ । समयमै पुल निर्माण भएमा बागलुङको दक्षिण जैमिनी र बरेङ क्षेत्रका नागरिकलाई गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने मोटरबाटोको दूरी छोटो हुने स्थानीय महेन्द्र खत्रीले बताए । काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । 

    जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले पुल निर्माणमा लामो समयदेखि ढिलाइ भएको भन्दै निर्माण कम्पनीलाई तीव्रगतिमा काम गर्न आग्रह गरेको बताए । पुलको कामलाई सहज बनाउनका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उनको भनाइ छ । यो पुल बने दक्षिण बागलुङ क्षेत्रको मुहार फेरिने उपप्रमुख शर्माले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij