काठमाडौं । लगातार छ खेल जित्दै रोयल च्यालेनजर्स बेंगलूरु इंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुुगेको छ । यो संगै यो सिजनको प्लेअफ समीकरण पूरा भएको छ।
चेन्नाई सुपर किंग्सलाई पाखा लगाउँदै बेंगलूरुले प्लेअफमा स्थान बनाएको हो । लिग चरणको आफ्नो अन्तिम खेलमागएराति चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो ।
पहिलो ८ खेलमा १ खेल मात्र जितेर तालिकाको पुुछारमा रहेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको हो । बेंगलूरुमा सम्पन्न खेलमा आरसीबीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो।
चेन्नाईका लागि ओपनर रचिन्ल रवीन्द्रले ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए। रवीन्द्र जडेजा २२ बलमा ४२ रन बनाएर अविजित रहेपनि टोलीलाई पार लगाउन भने सकेनन्। अजिङ्क्या राहानेले ३३ रन बनाए भने महेन्द्र सिंह धोनीले २५ रन बनाएका थिए।
आरसीबीको जितमा यश दयालले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोडेको थियो ।
आरसीबीका लागि कप्तान फ्याफ डु प्लेसिसले ३९ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रन जोडे। विराट कोहलीले २९ बलमा ३ चौका र ४ छक्का सहित ४७ रन बनाए। रजत पतिडरले २३ बलमा ४१ रन बनाए। क्यामरन ग्रीन १७ बलमा ३८ रन बनाएर नटआउट । ग्लेन म्याक्सवेलले १६ तथा दिनेश कार्तिकले १४ रन बनाए ।
चेन्नाईका लागि शार्दुल ठाकुरले २ तथा तुशार देशपाण्डे र मिचेल स्यान्टनरले १९१ विकेट लिए। राउण्ड रोबिन चरणमा कोलकत्ता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ। दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद बीच प्रतिस्पर्धा छ ।
आइपिएलमा पहिलो क्वालिफायर १ मा फाइनल प्रवेशका लागि कोलकत्ता नाईट राइडर्स र दोस्रो स्थानमा रहने टोली भिड्ने छन्। मंगलबार एलिमिनेटरमा आरसीबी र तेस्रो स्थानमा रहने टोली भिड्ने छन्। सो खेलको विजेताले क्वालिफायर १ मा हार बेहोर्ने टोलीविरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ।