‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य

‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • ‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य
    नवलपुर । गण्डकी प्रदेशको एकमात्रै भन्सारका रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणी भन्सारमा क्वारेन्टिइन नहुँदा आयात–निर्यातको अवस्था शून्य रहेको छ । 
     
    भारतसितको प्रदेशकै एकमात्रै भन्सार भए पनि क्वारेन्टिइन नभएका कारण यस नाकाबाट खाद्यान्नलगायत सामग्री आयात–निर्यात हुन नसकेको भन्सार कार्यालयले जनाएको छ । त्रिवेणी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामराजप्रसाद चौरसियाले छोटी भन्सारका रुपमा रहेको त्रिवेणी भन्सार विसं २०७६ मा स्तरोन्नति भए पनि अधिकारअनुसारको काम गर्न नपाएको बताए । 
     
    “हाम्रो भन्सार अङ्ग वर्गको भन्सार हो, वीरगञ्ज तथा भैरहवाका भन्सारले गर्ने सबै काम हामीले पनि गर्न पाउने अधिकार प्राप्त भएको छ”, त्रिवेणी भन्सार प्रमुख चौरसियाले भने, “आवश्यक पूर्वाधारको अभावमा यहाँबाट अस्थायी पैठारीबाहेक अरू चल्न सकेको छैन ।” नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई अस्थायी नम्बर दिनेबाहेकका अरू काम भन्सार कार्यालयले गर्न नपाएको चौरसियाको भनाइ छ । 
     
    त्रिवेणी भन्सार कार्यालयका सूचना अधिकारी चण्डीराज गेलालले भन्सार कार्यालयमा खाद्य क्वारेन्टिइन, पशु क्वारेन्टिइन र प्लान्ट क्वारेन्टिइन हुनुपर्नेमा यहाँ कुनै पनि नभएको बताए । “प्लान्ट क्वारेन्टिइनले बिरुवाहरुको विषादी परीक्षण गर्ने, खाद्य क्वारेन्टिइनले प्रशोधित खाद्यान्नको गुणस्तर परीक्षण गर्ने एवं पशु क्वारेन्टिइनले पशुपक्षीहरुको स्वास्थ्य परीक्षण गर्ने काम गर्दछ”, उनले भने, “हामीकहाँ क्वारेन्टिइन नभएका कारण यी कुनै पनि काम गर्न पाएका छैनौँ ।” 
     
    क्वारेन्टिइन निर्माण गरेर निकासी–पैठारीको वातावरण सिर्जना गर्नका लागि भन्सार विभाग हुँदै नेपाल सरकारलाई आग्रह गरिरहेको सूचना अधिकारी गेलालले बताए । अस्थायी पैठारीबाट मात्रै त्रिवेणी भन्सार कार्यालयले यस वर्ष रु एक करोड ५८ लाख राजस्व सङ्कलन गरेको भन्सार प्रमुख चौरसियाले जानकारी दिए। “हामीलाई वार्षिक रु ३० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो”, उनले भने, “दश महिनामै लक्ष्यको तुलनामा झण्डै पाँच गुणा बढी राजस्व सङ्कलन गर्न सफल भएका छौँ ।” त्रिवेणी भन्सारमा पनि अन्य ठूला भन्सारका जस्तै पूर्वाधार निर्माण भएको अवस्थामा यहाँबाट सहजरुपमा निकासी पैठारी गर्न सकिने उनको भनाइ छ । 
     
    अहिले त्रिवेणी भन्सार कार्यालय शून्य जस्तै भएको भन्दै चौरसियाले नेपाली उपभोक्ता भारतीय बजारमा गएर सामान ल्याउने अवस्थासमेत नभएको बताए । “यहाँका उपभोक्ता भारत गएर २० किलो चामल लिएर आएको भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई पोका बनाउन लगाउँछ”, उनले भने, “घरायसी उपभोग्य सामान खरिद गनेर ल्याउनसमेत एसएसबीका कारण समस्या हुने गरेपछि नेपाली उपभोक्ताले खासै सामान लिएर आउँदैनन् ।” 
     
    सामान्य उपभोग्य वस्तु नेपाल प्रवेश गर्दा थोरै राजस्व सङ्कलन हुने भन्दै चौरसियाले ठूलो मात्रामा सामान नेपाल भित्रियो भने मात्रै धेरै राजस्व उठाउन सकिने बताए। त्रिवेणी भन्सारमा क्वारेन्टिइन नहुँदा आलुप्याजसमेत भैरहवाबाट आयात हुने गरेको चौरसियाको भनाइ छ । “भैरहवामा क्वारेन्टिइन भएपछि उतैको भन्सारबाट जाँचपास हुन्छ, हामीलाई अधिकार प्राप्त भएर पनि पूर्वाधार अभावका कारण काम पाएका छैनौँ”, उनले भने, “पहिले आलुप्याज भित्रिने नाकाबाट समेत अहिले ती सामान आउँदैनन्, नेपालका १५ नाकामा मात्रै क्वारेन्टिइन रहेको छ ।” 
     
    जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ मा अवस्थित त्रिवेणी भन्सार कार्यालय २०७६ भदौमा मूल भन्सार कार्यालयका रुपमा उद्घाटन हुनुअगाडि भैरहवा भन्सार कार्यालयअन्तर्गतको छोटी भन्सार कार्यालयका रुपमा सञ्चालनमा रहेको थियो । यो भन्सार कार्यालय पूर्व–पश्चिम राजमार्गको बर्दघाटबाट करिब २८ किलोमिटर दक्षिणतर्फ पर्दछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij