काठमाडौं । नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । विहीबार अथात् आजको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको छ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । जेठ १ गते संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन ।
कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन । कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । आजको प्रारम्भिक कार्यसूचीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने कार्यतालिका रहेको छ ।