काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ७१४ गाउँ प्रभावित भएका छन् । चक्रवातका कारण ३१ वटा घरमा क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात बुधबार बिहान करिब १:२० बजे आन्ध्र प्रदेशको काकीनाडानजिकै तटीय क्षेत्रमा प्रवेश गरेको थियो । चक्रवातका कारण तीव्र हावाहुरी र भारी वर्षा हुँदा विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् ।
चक्रवातका कारण धानबालीमा समेत क्षति पुगेको छ । आन्ध्र प्रदेशका १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ भने छिमेकी राज्य ओडिशाका दक्षिणी जिल्लामा पनि तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ ।
राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का अनुसार चक्रवातको प्रभावलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशसहित ओडिशा, छत्तीसगढ, झारखण्ड, पुडुचेरी, तेलंगाना तथा अन्डमान निकोबार द्वीपसमूहमा ३९ वटा उद्धार टोली परिचालन गरिएको छ । आन्ध्र प्रदेशमा थप चार टोली पठाइएको थियो ।
तटीय क्षेत्रमा प्रवेश गरेपछि चक्रवातको तीव्रता घटेको छ । सुरुमा अत्यन्त शक्तिशाली चक्रवातका रूपमा रहेको अर्नब अहिले शक्तिशाली चक्रवातमा कमजोर भएको अधिकारीहरूले बताएका छन् ।