भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चाँगुनारायण नगर समितिको सभापतिमा गोकर्ण पुरी निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न मतदानमा पुरीले १८० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सिजन कार्कीले १७१ मत प्राप्त गरे ।
निर्वाचन समितिका अनुसार नगर समितिको उपसभापतिमा सत्यनारायण गिरी १८४ मतसहित निर्वाचित भएका छन् । महिला उपसभापतिमा मधुरा दाहालले पनि १८४ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, सचिवमा श्याम काजी नयाजुले १८१ मत प्राप्त गरी निर्वाचित हुँदा सहसचिवमा सुनकुमार वाइबाले १७५ मत पाए ।
नगर समितिको खुला सदस्यतर्फ प्रमोद पाण्डेले १९१ र अभिषेक दाहालले १६५ मत प्राप्त गरी निर्वाचित भएका छन् । युवा महिला सदस्यमा सरिता वाग्ले अधिकारीले १८२ मत तथा दलित खुला सदस्यमा नानू विकले १८० मत प्राप्त गर्दै विजयी भएका छन् ।
निर्वाचन समितिले मतदानबाट नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू चयन भएको जनाएको छ ।