रसुवा बाढीः त्रिवि शिक्षण अस्पतालमा २१ घाइतेको उपचार, १३ हजारभन्दा बढीको उद्धार

रसुवा बाढीः त्रिवि शिक्षण अस्पतालमा २१ घाइतेको उपचार, १३ हजारभन्दा बढीको उद्धार

सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • रसुवा बाढीः त्रिवि शिक्षण अस्पतालमा २१ घाइतेको उपचार, १३ हजारभन्दा बढीको उद्धार

    काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका घाइतेमध्ये एक भारतीय नागरिकसहित २१ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

    अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीपछि अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये हाल २१ जनाको उपचार जारी छ । उपचाररत घाइतेमध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठ आईसीयूमा छन् भने मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टको हाई केयर युनिटमा उपचार भइरहेको छ ।

    अस्पतालबाट उपचारपछि हालसम्म ५५ जना डिस्चार्ज भएका छन् भने चार जनालाई अन्य अस्पतालमा उपचारका लागि पठाइएको छ । उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यसैबीच, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    उद्धार गरिएकामध्ये तीन हजार ५३३ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन् ।

    प्राधिकरणका अनुसार बाढीपछि हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ भने चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । फेला परेका शवमध्ये ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ ।

    बाढीबाट घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ६७२ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। विभिन्न अस्पतालमा उपचाररत ३२३ जनामध्ये २२८ जना डिस्चार्ज भइसकेका छन् ।

    नेपाली सेनाबाट तीन हजार ३७९ जना र सशस्त्र प्रहरी बलबाट दुई हजार ९७० जनाले स्वास्थ्य उपचार सेवा लिएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी संस्थाहरू खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा निरन्तर सक्रिय रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij