मकवानपुर । बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएका किरण थापा मगरको जन्म भक्तपुरको सूर्यविनायक–८ सिपाडोलमा २०३३ साल भदौ १४ गते भएको हो । पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगरका सन्तानका रूपमा सामान्य परिवारमा उनको जन्म भएको थियो ।
प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका उनी सानैदेखि सामाजिक गतिविधिमा चासो राख्दै आएको बताउँछन् । विसं २०४७ देखि उनी निरन्तर राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उनले जिल्ला कमिटी उपाध्यक्षको भूमिकामा समेत हुनुहुन्छ । पार्टी सङ्गठनको जिम्मेवारीसँगै स्थानीय जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर पाएपछि उनको थप राजनीतिक परिचय बनेको हो ।
उनी २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला स्थानीय तहमा जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने क्रममा नगरपालिकाको सामाजिक विकास समितिको संयोजकसमेत बने । स्थानीय तहको नेतृत्वका क्रममा उनले सामाजिक सेवा र जनप्रतिनिधिको भूमिकालाई सँगसँगै अघि बढाउने प्रयास गरेको देखिन्छ । विसं २०७९ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ ९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए ।
प्रदेशसभा सदस्यको जिम्मेवारीसँगै उनले प्रदेश सरकारमा मन्त्रीको भूमिकासमेत सम्हाले । विसं २०८१ साउन ९ गतेदेखि २०८३ असारसम्म उनले बागमती प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हाले । उनीसँग लामो समयदेखि सामाजिक सङ्घसंस्थामार्फत समुदायसँग जोडिएको अनुभव छ । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभएका उहाँ धार्मिक तथा सामाजिक अभियानमा समेत सक्रिय छन् ।
यस्तै, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापतिका रूपमा तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापतिका रूपमा दुई कार्यकाल उनले भूमिका निर्वाह गरेका छन् । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्यका रूपमा समेत काम गरेको उनको अनुभव छ ।खेलकुद र आर्थिक क्षेत्रमा पनि उनको संलग्नता छ । नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य सङ्घको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबको संरक्षकका रूपमा उनले भूमिका निर्वाह गरेका छन् । सिपाडोल क्षेत्र परोपकार समाज र ‘आफ्नो घर आश्रम’सँग पनि उनी जोडिएका छन् ।
राजनीति, समाज सेवाका साथै उनले आफ्नो निजी व्यवसायलाई समेत अगाडि बढाएका छन् । उनका अनुसार निजी व्यवसायबाट ५०० भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन् । युवालाई स्वरोजगार बनाउन तालिम, सहजीकरण र लगानी प्रवर्द्धनमा समेत आफू सक्रिय रहेको उनी बताउँछन् । उनले वडाध्यक्षका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहँदा पनि त्यसबाट प्राप्त हुने सुविधा नलिएको बताउँछन् । त्यस सुविधाबापत बचत भएको रु १५ लाखबराबरको अक्षयकोष स्थापना गर्नुभयो । सो कोषमा हाल रु ४० लाख पुगेको उनले बताए ।
विसं २०७२ को विनाशकारी भूकम्प, २०७५ को हनुमन्ते बाढी, उद्धार तथा राहतको कार्यमा उनले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको स्मरण गर्नुहुन्छ । यस्तै, कोरोना महामारीका बेला पनि सङ्क्रमित तथा प्रभावित नागरिकका लागि निःशुल्क पिसीआर परीक्षणको व्यवस्था र समन्वयदेखि घरघरमा अक्सिजन तथा औषधि पुर्याउने काममा उनी सक्रिय रहेका थिए ।
प्रदेश सरकारको मुख्यमन्त्रीसम्म आइपुग्दा उहाँले सामाजिक संस्था, स्थानीय सरकार, प्रदेशसभा र प्रदेश सरकारका विभिन्न जिम्मेवारीमा आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ । वडाध्यक्षबाट सुरु भएको उनको राजनीतिक सेवाको यात्रा प्रदेशसभा सदस्य र मन्त्री हुँदै मुख्यमन्त्रीसम्म आइपुगेको छ ।
पार्टीभित्रको सामान्य असन्तुष्टिलाई समाधान गरी मुख्यमन्त्री बनेका थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ रहेको दाबी गरिएको छ । उनलाई मुख्यमन्त्री बनाउन सहयोग गरेका दललाई साथमा लिएर अघि बढ्नुपर्ने देखिन्छ । साथै, सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारलाई सञ्चालन गरी प्रदेशवासीको चाहनाबमोजिम कार्यसम्पादन गर्नुपर्ने दायित्व पनि उनको काँधमा छ ।