सूर्यविनायक ८ एक्लैले चार वर्षमा १५० करोड भन्दा बढी विकासमा लगानी

सूर्यविनायक ८ एक्लैले चार वर्षमा १५० करोड भन्दा बढी विकासमा लगानी

मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • सूर्यविनायक ८ एक्लैले चार वर्षमा १५० करोड भन्दा बढी विकासमा लगानी

    भक्तपुर । जनताको चासो, गुनासा र सुझावलाई प्रत्यक्ष रूपमा सुनेर जनअपेक्षाअनुसार विकास, समृद्धि तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सूर्यविनायक नगरपालिका वडा नं. ८ मा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको समन्वयमा वडा कार्यालय सिपाडोलको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा जनप्रतिनिधिहरूले निर्वाचनपश्चात् हालसम्म सम्पन्न भएका सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक, धार्मिक, सांस्कृतिक तथा वातावरणीय विकासका गतिविधिहरूको समीक्षा गर्दै आगामी योजनाबारे विस्तृत जानकारी गराएका थिए । 

    ‘चार वर्षमा करिब १५० करोड बराबरका विकास कार्य’
    वडाध्यक्ष पुष्पराज बस्नेतले आफ्नो कार्यकालमा वडा क्षेत्रमा करिब १५० करोड रुपैयाँ बराबरका पूर्वाधार तथा सामाजिक विकासका कार्य सम्पन्न भएको दाबी गरे । 

    उनका अनुसार सडक, शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा उल्लेखनीय लगानी गरिएको छ । जनताको आवश्यकता र मागका आधारमा संघ, प्रदेश र स्थानीय तहबाट बजेट व्यवस्थापन गरी विकासलाई तीव्रता दिइएको उनले बताए । यद्यपि पछिल्लो समय संघीय सरकारबाट वडामा कुनै बजेट प्राप्त नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । 

    WhatsApp Image 2026-06-16 at 7.39.19 PM (1).jpeg

    ‘हाम्रो कार्यकालमा चार वटा पुल, तीन वटा ट्रस्ट पुल, मुख्य सडकहरूको निर्माण, कालोपत्रे, ढलान र ग्राभेल कार्य सम्पन्न भएका छन्,’ उनले भने, ‘सामुदायिक भवन निर्माण, ५५ वटा चोकमा सीसी क्यामेरा जडान, चार स्थानमा प्रहरी बिट स्थापना तथा जनआन्दोलनपछि ध्वस्त भएको प्रहरी चौकी पुनःनिर्माण गरिएको छ ।’

    उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष जोड दिइएको उल्लेख गर्दै मन्दिर, गुम्बा, पाटीपौवाको स्तरोन्नति तथा विभिन्न धार्मिक–सांस्कृतिक संस्थालाई आवश्यक सामग्री वितरण गरिएको जानकारी दिए । 

    WhatsApp Image 2026-06-16 at 7.40.53 PM.jpeg

    एआई पाठ्यक्रमदेखि योग अभियानसम्म
    वडाध्यक्ष बस्नेतले पौराणिक तथा परम्परागत स्थान संरक्षण, सामुदायिक वन संरक्षण, पार्क, खेलमैदान तथा खुला व्यायामशाला निर्माण र स्तरोन्नतिका काम भइरहेको जानकारी दिए । 

    सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमा आधारित शिक्षा प्रवद्र्धनका लागि कृत्रिम बौद्धिकता ९एआई० सम्बन्धी पाठ्यक्रम विकासको तयारी भइरहेको उल्लेख गर्दै योग अभ्यासमार्फत नागरिकलाई निरोगी बनाउने अभियानलाई पनि प्राथमिकता दिइएको बताए । 

    ‘मानसिक स्वास्थ्य प्रवद्र्धन, तनाव व्यवस्थापन, युवा तथा महिला सशक्तीकरण, बालबालिका र ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ उनले भने – ‘गोठ–गोठमा र खेत–खेतमा प्राविधिक पु¥याउने अभियान चलाएका छौँ । कृषि सडक स्तरोन्नति, उद्योगग्राम निर्माण, कोशेली घर तथा होमस्टे सञ्चालनमार्फत रोजगारी र आयआर्जनका अवसर विस्तार गरिरहेका छौँ ।’ 

    WhatsApp Image 2026-06-16 at 7.39.22 PM.jpeg

    ‘विकासको मन्दिर बनिसक्यो, अब गजुर राख्न मात्रै बाँकी’
    एक घर–एक खानेपानीको अवधारणाअनुसार काम भइरहेको बताउँदै बस्नेतले वडा क्षेत्रमा रहेको खानेपानीको स्रोतले सूर्यविनायक नगरपालिका मात्र नभई समग्र भक्तपुर जिल्लालाई समेत लाभ पु¥याउन सक्ने दाबी गरे । स्रोत संरक्षण र व्यवस्थापनमा सबै पक्षको ध्यान आवश्यक रहेको उनको भनाइ थियो ।

    उनले खेलकुद तथा सार्वजनिक यातायात व्यवस्थापनमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै चार वर्षमा नगरपालिकाबाट करिब ५० करोड रुपैयाँ बराबरको बजेट प्राप्त भएको र चालु आर्थिक वर्षमा मात्रै १२ करोड रुपैयाँ बराबरका योजना कार्यान्वयन गरिएको जानकारी दिए । 

    जंगली जनावर संरक्षणको जिम्मेवारी प्राणी उद्यानसँग सम्बन्धित विषय भएकाले त्यसको अधिकार संघीय सरकारअन्तर्गत पर्ने उनले स्पष्ट पारे । 

    WhatsApp Image 2026-06-16 at 7.39.17 PM.jpeg

    ‘आलोचनात्मक समर्थन नै अगाडि बढ्ने सबैभन्दा प्रभावकारी माध्यम हो,’ उनले भने, ‘कमजोरी देखाउने मात्र होइन, सुधारका उपाय पनि सुझाउनुपर्छ । विकासको मन्दिर बनिसकेको छ, अब गजुर राख्न मात्रै बाँकी छ । तर मूल्यवृद्धि र अमेरिका–इरानबीचको तनावका कारण निर्माण सामग्री अभाव हुँदा केही चुनौती थपिएका छन् ।’

    उनले डोलेश्वर क्षेत्रमा मात्रै करिब १९ करोड रुपैयाँ बराबरका भौतिक तथा अन्य विकासका काम सम्पन्न भएको उल्लेख गर्दै उक्त क्षेत्र नेपाली मात्र नभई विदेशी पर्यटकका लागि समेत महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा विकसित भइरहेको दाबी गरे ।
     
    कार्यक्रममा वडा सचिव प्रतिमा लामिछानेले वडाको प्रशासनिक सेवा तथा सार्वजनिक सेवा प्रवाहबारे जानकारी दिँदै प्रक्रिया पूरा गरेका सेवाग्राहीलाई १० मिनेटभित्र सेवा प्रदान गर्ने व्यवस्था गरिएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्षमा वडाले २ करोड २ लाख ३२ हजार ५ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

    WhatsApp Image 2026-06-16 at 7.39.18 PM.jpeg

    वडाले सरसफाइ अभियान, सेनेटरी प्याड वितरण, मनोसामाजिक परामर्श, ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण, दुई तथा चार पाङ्ग्रे सवारी चालक तालिम, अध्ययन अवलोकन भ्रमण, सचेतनामूलक कार्यक्रम, घर–घरमा प्रहरी साझेदारी, क्षमता अभिवृद्धि, खेलकुद, कौशी खेती, घुम्ती हाटबजार तथा कुकुर बन्ध्याकरणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिईन् । 

    वडा कार्यालयको आफ्नै भवन निर्माण भइसकेको र त्यहीँबाट सहज तथा सुलभ रूपमा सेवा प्रवाह भइरहेको उल्लेख गर्दै वडा सचिवले कृषि तथा पशुपन्छीसम्बन्धी सेवा पनि वडा तहबाटै सञ्चालन गरिएको बताइन् । सेवाग्राहीको सुविधाका लागि प्रतीक्षालय, स्तनपान कक्ष, सडकमा सीसी क्यामेरा, सडक बत्ती तथा विपद् व्यवस्थापन सामग्रीको व्यवस्था गरिएको जानकारी दिँदै वडा बालमैत्री घोषणा गर्ने अन्तिम तयारीमा रहेको समेत बताइन् । 

    ‘पुस्तकालय सञ्चालनमा ल्याएका छौँ । कुन सेवा कुन समयमा उपलब्ध हुन्छ भन्ने विवरण सार्वजनिक सूचना पाटीमै राखेर पारदर्शी सेवा प्रवाह गरिरहेका छौँ,’ उनले भनिन् । 

    WhatsApp Image 2026-06-16 at 7.39.23 PM.jpeg

    नागरिकका प्रश्न : करदेखि वातावरण र सम्पदा संरक्षणसम्म

    सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयवासीले विकासका उपलब्धिको संरक्षण, विकाससँगै हुने विनाशको जोखिम न्यूनीकरण, जंगली जनावरको संरक्षण तथा नागरिक सुरक्षाको सुनिश्चितता, करको बोझ घटाउनुपर्ने, करसम्बन्धी नागरिक बडापत्र राख्नुपर्ने, कानुनी साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका विषय उठाएका थिए ।

    त्यस्तै ऐतिहासिक पाटी, मठमन्दिर तथा सम्पदाको संरक्षण, विद्यालय भवन भाडामा दिइएको विषय, पूर्वाधार विकाससँगै वातावरण संरक्षण, खेलमैदान निर्माण, सीसी क्यामेरा मर्मत, फोहोर व्यवस्थापन, ढल तथा खानेपानीको संरक्षण र व्यवस्थापन, ढल निर्माणपछि मात्र सडक कालोपत्रे गर्नुपर्ने, स्थानीय स्वास्थ्य सेवाको उपयोग कम हुनुको कारण खोज्नुपर्ने, जलवायु परिवर्तन न्यूनीकरण तथा शान्ति सुरक्षाको अवस्था सुदृढ गर्नुपर्ने विषयमा समेत सुझाव र गुनासा राखिएका थिए। सहभागीहरूले मदिराजन्य पदार्थको बिक्री तथा सेवनमा नियमन गर्नुपर्ने मागसमेत गरेका थिए ।

    WhatsApp Image 2026-06-16 at 7.39.19 PM.jpeg

    स्वास्थ्य चौकीबाट ९८ प्रकारका औषधि निःशुल्क
    प्रश्नहरूको जवाफ दिँदै सिपाडोल स्वास्थ्य चौकीका प्रमुख पुष्पराज ठाकुरले स्वास्थ्य चौकीले नागरिकमैत्री सेवा सहज रूपमा प्रदान गरिरहेको बताए । उनले वडामा वृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको र ९८ प्रकारका औषधि निःशुल्क वितरण भइरहेको जानकारी दिए । 

    सुत्केरी महिला तथा खोप सेवाका लागि घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै उनले वडामा एम्बुलेन्स सेवा भने उपलब्ध नभएको स्वीकारे । 

    WhatsApp Image 2026-06-16 at 7.40.54 PM (1).jpeg

    ‘कङ्क्रिट घटाउँदै ब्लक बिछ्याउने नीति’
    सूर्यविनायक नगरपालिकाका पूर्वाधार विकास प्रमुख बरिष्ठ ई। जनक न्यौपानेले आधुनिक विकासको अवधारणाअनुसार अन्तर्राष्ट्रिय मापदण्डमा आधारित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार अत्यधिक कङ्क्रिट प्रयोगलाई निरुत्साहित गर्दै ब्लक बिछ्याउने कार्यलाई प्रोत्साहन गरिँदैछ ।

    उनले सडक बत्ती व्यवस्थापनका लागि वडामै सम्पर्क व्यक्ति तोकिएको जानकारी दिँदै सडक कालोपत्रे गर्नुअघि ढल निर्माण गर्ने नीति अनुसार योजना अघि बढाइएको स्पष्ट पारे । उनको छोटकरीमा रोचक प्रस्तुतिकासाथ नगरपालिकाको विकास मोडेल समेत बताएका थिए ।

    WhatsApp Image 2026-06-16 at 7.40.30 PM.jpeg

    राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल कुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सावित्री मिश्र, वडा सदस्य अन्जना नेपाली, विक्रम तामाङ, सुपरभाइजर निराजन थापा, डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij