बजेट लेखन अन्तिम चरणमा

बजेट लेखन अन्तिम चरणमा

मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • बजेट लेखन अन्तिम चरणमा

    काठमाडौँ ।  सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ ।

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन् ।

    यही जेठ १५ गते गणतन्त्र दिवसको दिन सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । पछिल्ला केही दिनदेखि अर्थमन्त्री डा वाग्लेले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उनका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिए ।

    सङ्घीय संसद्ले सांसदहरूले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त माथिको छलफलमा क्रममा दिएको सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालयलाई उपलब्ध गराएको छ ।

    अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री, अर्थविद्हरूसँग पनि बजेटका बारेमा छलफल गरिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाको सुझाव यसअघि नै लिइसकेका छन् । महासङ्घले तीन महले नै बनाएर आगामी आवको बजेटमा समावेश गर्नुपर्ने विषय उपलब्ध गराएको छ ।

    महासङ्घले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेस गर्दै महासङ्घले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको छ ।

    अर्थमन्त्री डा वाग्लेले पनि नागरिकले अब भाषण होइन, परिणाम खोजेको उल्लेख गर्दै कानुनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको बताएका छन् । उनले पहिलो पटक मिसन मोडका आधारमा अगाडि बढ्न खोजेको यसअघि नै स्पष्ट पारेका छन् ।

    झन्डै दुई तिहाइ जनमत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्त्वका साथ हेरिएको छ । सिंहदरबारस्थित नवनिर्मित सङ्घीय संसद् भवनमा अर्थमन्त्री डा वाग्लेले बजेट प्रस्तुत गर्नेछन् ।

    सङ्घीय संसद् सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ । सभामुख डोलप्रसाद अर्याल र अर्थमन्त्री वाग्लेलगायतको टोलीले सोमबार नवनिर्मित भवनको अवलोकन निरीक्षण गरेका थिए ।

    विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने क्रममा नै अर्थमन्त्री डा वाग्लेले नयाँ आधारमा नयाँ आवको बजेट आउने सङ्केत गरिसकेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij