काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न रहेको आरोपमा सात विदेशी महिला पक्राउ परेका छन्।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील गतिविधि गर्ने तथा प्रहरीमाथि अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ती महिलाले ठमेल क्षेत्रमा आवतजावत गर्ने स्वदेशी तथा विदेशी पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्दै दुःख–हैरानी दिने गरेको आरोप छ।
प्रहरीका अनुसार पक्राउ परेकाले ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज तथा धक्कामुक्का समेत गरेका थिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।