काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा हुने साफ महिला च्याम्पियनशिप का लागि नेपालको अन्तिम महिला टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक नवीन न्यौपाने ले प्रतियोगिताका लागि अन्तिम टोली छनोट गरेका हुन् ।
घोषित टोलीमा अनिता लम्जेल र बिर्सना चौधरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै गीता राना, सविना चौधरी र अनिता केसीले टोलीमा पुनरागमन गरेका छन् ।
नियमित खेलाडी सरस्वती हमाल र मनमाया दमाईं भने यसपटक टोलीमा समावेश हुन सकेनन् ।
भारतको गोवामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा भुटान र श्रीलंका रहेका छन् । समूह ‘बी’मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स छन् ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा जेठ ११ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।