काठमाडौं । आईसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीले ३ करोड ७६ लाख ६६ हजार ८८ नेपाली रुपैयाँ पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट साे रकम उपलब्ध हुने भएको हाे ।
आईसीसीले बुधबार एक विज्ञप्ति जारी गरी विश्वकपमा सहभागी टोलीले पाउने रकम घोषणा गरेको हो । आईसीसीले १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार स्वरुप वितरण गरेको जनाएको छ ।
यो रकम सन् २०२४ को विश्वकपभन्दा बढी हो ।
विश्वकपमा नेपालले समूह चरणमा चार खेल खेलेको थियो । समूह चरणमा तीन खेलमा हार भोगेको नेपालले अन्तिम खेलमा भने स्कटल्यान्डलाई हराएको थियो ।
विश्वकप विजेता भारतले ३८ करोड ८१ लाख १३ हजार १६३ नेपाली रुपैयाँ प्राप्त गरेको छ ।