काठमाडौँ । उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको चैत २३ गते गर्ने भएको छ । बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौँको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा दिएको निवेदनमा पहिलो सुुनवाई हुन लागेको हो ।
उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले सो जानकारी दिएका हुन् । आचार्यका अनुसार, एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत २३ मा झगडिया झिकाउने आदेश हुने थियो । तर, सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम चैत्र २३ गते हुने छ ।
त्यसपछि दुवै निवेदनलाई सँगै राखेर निरन्तर सुनुवाइ हुने उच्च अदालतले जनाएको छ । गत वर्ष ‘गौशाला २६’ ले क्रिकेटर सन्दीपलाई बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ ।
सो फैसलामा बिरुद्ध सन्दीप उच्च अदालत पाटन गएका हुन् । सरकारी पक्ष पनि गौशाला नावालिग रहेको दावीगर्दै फैसला पुनरावलोकनका लागि उच्च पुुगेको छ ।