काठमाडौं । टी–२० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । वेष्ट इण्डिजलाई पछिपार्दै आयोजक भारत अन्तिम चारमा पुगेसंगै सेमिफाइनल समिकरण पूरा भएको हो।
आइतबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै साविक विजेता भारतले सेमिफाइनलको टिकट काटेको हो। १९६ रनको विशाल लक्ष्य पछ्याएको भारतले चार वल बाँकी छंदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
भारतका लागि सन्जु सामसन ५० बलमा ९७ रनसहित अविजित रहे। उनले १२ चौका र ४ छक्का प्रहार गरे।
यस्तै, तिलक वर्माले २७, हार्दिक पाण्ड्याले १७ रन जोडे। बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर र शाई होपले समान दुई तथा अकिल होसेनले एक विकेट लिए।
त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १९५ रन जोड्यो। उसका लागि रोस्टन चेजले ४० रन बनाउँदा जेसन होल्डर ३७ तथा रोभमन पोवेल ३४ रनमा अविजित रहे।
यस्तै, कप्तान शाई होपले ३२, शिमरोन हेटमायरले २७ रन जोडे। बलिङतर्फ भारतका जसप्रित बुमराहले दुई तथा हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले समान एक विकेट लिए।
यो खेलसँगै सेमिफाइनलमा पुग्ने चारै टोलिको टुंगो लागेको छ। यसअघि इंग्ल्यान्ड, नूजिल्यान्ड, दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाएका थिए ।