काठमाडौं । इंग्ल्यान्ड टी–२० विश्वकपको सुपर एटमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा इटालीलाई २४ रनले हराउँदै इंग्ल्यान्डले सुपर एटमा स्थान पक्का गरेको हो ।
इंग्ल्यान्डले समूह चरणका ४ मध्ये ३खेलमा जित निकाल्दै ६ अंक जोड्यो । समूह ‘सी’बाट वेस्ट इन्डिज एक खेलनै सुपर एटमा पुगेको थियो ।
इंग्ल्यान्डको जितसंगै नेपाल, स्कटल्यान्ड र इटाली समूह चरणबाट बाहिरिएका छन् । इंग्ल्यान्डले दिएको २०३ रनको लक्ष्य पछ्याएको इटालीले २० ओभरमा सबै विकेट गुमाएर १७८ रन बनायो ।
इटालीका बेन मनेन्टीले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ६० रन जोडेपनि हार टार्न सकेनन् । ग्रान्टले २३ बलमा ४५ रन जोडेभने जस्टिन मोस्काले ४३ रन बनाए ।
बलिङतर्फ इंग्ल्यान्डका साम करन र जेमी ओभर्टनले तीन–तीन तथा जोफ्रा आर्चरले दुई विकेट लिए । त्यस्तै विल ज्याक्स र आदिल राशिदले समान एक विकेट लिए ।
त्यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २०२ रनको उच्च योगफल बनाएको थियो । ज्याक्सले २१ बलमा अर्धसतक बनाउँदै इंग्ल्यान्डका लागि
टि–२० विश्वकपमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाए । यसअघि ओएन मोर्गनले २०१२ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध २५ बलमा अर्धशतक बनाएका थिए ।
बलिङतर्फ इटालीका ग्रान्ट स्टवार्ट र कृशन कलुगामागेले समान दुई तथा जेजे स्मट्स, अलि हसन र बेन मानेन्टीले एक–एक विकेट लिए ।