बनेपा नगरपालिका–४, थापागाउँस्थित सगरमाथा ग्यास उद्योग प्रालिले आइतबार पुराना र परीक्षणमा असफल ठहरिएका तीन हजार ३० वटा एलपी ग्यास सिलिन्डर नष्ट गरेको छ।

उद्योगका सञ्चालक सावरमल अग्रवालका अनुसार वार्षिक कार्यक्रमअनुसार प्रयोगयोग्य नभएका सिलिन्डरलाई आधुनिक मेसिनको प्रयोग गरेर डिस्पोजल गरिएको हो। नेपाल आयल निगमको निर्देशन र गुणस्तर तथा नापतौल विभागको प्रावधानलाई आधार मानेर यस्तो कदम चालिएको हो।

हाल बजारमा करिब साढे चार लाख ‘सगर ग्यास’ सिलिन्डर प्रयोगमा रहेको र दैनिक करिब सात हजार पाँच सय सिलिन्डर रिफिल भइरहेको अग्रवालले जानकारी दिए। उनले ग्यास विस्फोटको प्रमुख कारणमा केवल सिलिन्डरलाई मात्र दोष नदिइकन रेगुलेटर र पाइपको अवस्था पनि उत्तिकै जिम्मेवार हुने बताए। उपभोक्तालाई सचेत रहन आग्रह गर्दै उनले प्रत्येक डिपोमार्फत सतर्कता सन्देश पुर्याइरहेको उल्लेख गरे।

सिलिन्डर नष्ट गर्ने कार्यमा नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता अधिकार अध्ययन मञ्च, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको प्रत्यक्ष उपस्थिती थियो।

गुणस्तर तथा नापतौल विभागका प्राविधिक इन्जय कुमार मानन्धरका अनुसार अन्तर्राष्ट्रिय मान्यताअनुसार ग्यास सिलिन्डर २० वर्षसम्म मात्रै प्रयोगयोग्य हुन्छ। पहिलो पटक १० वर्षपछि र त्यसपछि प्रत्येक पाँच–पाँच वर्षमा हाइड्रोलिक परीक्षण अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही कारण परीक्षणमा असफल ठहरिएका सगर ग्यासका सिलिन्डरलाई यसपटक नष्ट गरिएको उनले स्पष्ट पारे।
