भासिएको कमला पुलको पुनः निर्माण माघदेखि गरिदैं

भासिएको कमला पुलको पुनः निर्माण माघदेखि गरिदैं

बुधवार, पौष २५ २०८०
बुधवार, पौष २५ २०८०
  • भासिएको कमला पुलको पुनः निर्माण माघदेखि गरिदैं
    सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भासिएको पुलको पुनःनिर्माणको कार्य आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच मङ्गलबार आगामी असार अगावै पुलको सञ्चालन गर्ने गरी कार्ययोजना सम्झौता भएको हो ।
     
    सम्झौताअनुसार भासिएको कमला पुलको पुनः निर्माणको काम तीव्रताका साथ हुने निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए । तोकिएकै समयमा पुलको बाँकी निर्माण कार्य सम्पन्न हुनेगरी काम अघि बढाउँन लागिएको हो ।  कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनः निर्माणको काम गत मङ्सिरबाटै सुरु भए पनि आर्थिक सङ्कटका कारण सुस्त रहेको थियो । 
     
    विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो । पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो । 
     
    पुल निर्माणमा कम्पनीको लापरबाही देखिएपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लार्ई हटाएर ‘लुम्बिनी बिल्डर्स’लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । २०७९ चैत १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षणपछि एक सातामा पुलको पुनः निर्माण कार्य सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । 
     
     तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । यस लोकमार्गअन्र्तगत कमला पुल समयमा नबन्दा वर्षौंदेखि स्थानीयले सास्ती खेप्दै आएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij