गोदावरीमा विपद् जोखिम न्युनीकरण तालिम सम्पन्न

गोदावरीमा विपद् जोखिम न्युनीकरण तालिम सम्पन्न

शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • गोदावरीमा विपद् जोखिम न्युनीकरण तालिम सम्पन्न

    ललितपुर । गोदावरी नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । जेठ १ गते स्वास्थ्य संस्थाका कर्मचारीका लागि तालिम सञ्चालन गरेको ग्रुप फर टेक्निकल एसिस्टेन्सले २ गते महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि तालिम सञ्चालन गरेको हो । 

    नगरपालिकाको स्वास्थ्य संयोजक रेवतीराज कार्कीको अध्यक्षतामा सम्पन्न तालिममा विपद् जोखिम व्यवस्थापनका अनुभवी प्रशिक्षक डम्बर बहादुर बिष्ट र संयोजक कार्की स्वयंले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमको औपचारिक सत्रमा ग्रुप फर टेक्निकल एसिस्टेन्स जिटिएका सचिव भोलानाथ चौधरीले संस्थाको उद्देश्य र तालिमको महत्वबारे प्रकाश पारेका थिए ।


    चौधरीले विपद् पूर्व तयारी, जोखिम मूल्याङ्कन, समुदायमा आधारित व्यवस्थापन रणनीति, र प्रभावकारी सञ्चार संयन्त्रबारे चर्चा गरेका थिए । तालिममा गोदावरी नगरपालिकाका सबै वडाका स्वास्थ्य चौकी प्रमुख लागयतका २५ जना स्वास्थ्यकर्मी र ४९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।

    2.jpg

    नगरपालिकाका विभिन्न विभागीय प्रमुखहरूको उपस्थितिले तालिमलाई थप प्रभावकारी बनाएको थियो । तालिमको विषयवस्तु विशेषगरी गत असोजमा आएको बाढीपहिरो जस्ता प्राकृतिक विपद् र आगामी मनसुनका सम्भावित जोखिमहरू माथि केन्द्रित थियो । 

    सहभागीहरूलाई विपद् आउनु पूर्वको तयारी, सतर्कता अपनाउने उपायहरू, तत्कालीन उद्धार र राहत प्रक्रियाबारे व्यवहारिक जानकारी प्रदान गरिएको सचिव चौधरीले बताए । प्रशिक्षक डम्बर बहादुर बिष्टले गोदावरी नगरपालिकाद्वारा निर्माण गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना सम्बन्धी जिज्ञासा राख्दै सहभागीहरूसँग अन्तरक्रिया पनि गरेका थिए ।

    तालिमको समन्वय र व्यवस्थापन ग्रुप फर टेक्निकल एसिस्टेन्स द्वारा गरिएको थियो । यस्ता तालिमहरूले स्थानीय तहमा विपद् व्यवस्थापन क्षमताको विकास हुँदै गएको कार्यक्रममा विश्वास व्यक्त गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij