कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले । बाउन्न वर्षको उमेरमा चौधरी विद्यालयमा भर्ना भएर पढ्न थालेकी छिन् ।
गाउँपालिका–४ को वडासदस्य समेत रहेकी चौधरी गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर पढ्न थालेकी हुन् । विद्यालय व्यवस्थापन समितिको सदस्यसमेत रहेकी चौधरीको सानैदेखिको विद्यालय गएर पढ्ने चाहना रहेपनि बिभिन्न बाध्यताले पढ्न पाएकी थिइनन् ।
गाउँपालिकाको वैठक तथा विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्दा आफुले औँठा छाप लगाउँनुपर्ने बाध्यताले गर्दा आफुलाई मनभित्र हीनताबोध भएर अहिले पढ्न थालेको चौधरीले बताइन । चौधरीले भनिन्, ‘‘पहिले पढ्न पाएको भए यस्तो हुँदैनथ्यो । अहिले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएकी हुँ ।”
“विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी शिक्षकले उमेर जति भए पनि पढनका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलायो, त्यसपछि बिधालय भर्ना भएको चोधरीले बताइन । वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्रखरी, दुनालगायत पढ्न र सिक्न थालेको चौधरी बताउँछिन् ।
समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको बताउदै चौधरीले धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्रखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको बताइन । अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उनको भनाइ छ ।
विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको बताए । “उहाँको पढ्ने प्रवल इच्छा रहेछ”, भट्टले भने, “उहाँकै इच्छाअनुसार भर्ना गरी कक्षामा सहभागी हुनका लागि आग्रह गरेका छौँ ।”