यूथ ओडिआई शृंखला : पहिलो खेलमा अफगानिस्तानसँग १३० रनले हार्यो नेपाल

यूथ ओडिआई शृंखला : पहिलो खेलमा अफगानिस्तानसँग १३० रनले हार्यो नेपाल

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • यूथ ओडिआई शृंखला : पहिलो खेलमा अफगानिस्तानसँग १३० रनले हार्यो नेपाल

    काठमाडौं ।  काठमाडौंमा बिहीबारदेखि सुरु भएको यूथ ओडिआई शृंखलाको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । नेपाल यू–१९ टोलीलाई अफगानिस्तान यू–१९ ले १३० रनले हराएको हो ।

    जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानको टोलीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३ सय १ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ४६.२ ओभरमा अलआउट हुनुअघि १ सय ७० रनमात्र बनाउन सक्यो ।

    नेपाली टोलीका ओपनर निरज कुमार यादव ५३ रन बनाए । अशोक धामी र सन्तोष यादवले समान २४ रन बनाउँदा अभिषेक तिवारीले १७ रन बनाए ।

    अफगानिस्तानका लागि जैबुल्लाह शाहीनले १० ओभरमा २४ रन दिएर २ विकेट लिए । महबुब खान र वाहिदुल्लाह जाद्रानले पनि २–२ विकेट लिँदा अब्दुल अजिज र नूरिस्तानी ओमरजाईले १–१ विकेट लिए ।

    मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाउँदै ३ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन बनाए । त्यस्तै ओपनर खालिद अहमदजाईले ७६ रन बनाए । बर्कात इब्राहिमजाईले ३५ रनको बनाए ।

    नेपालका सन्तोष यादवले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट लिँदा दयानन्द मण्डल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए ।

    अफगानिस्तानको यू–१९ टोलीले नेपालको यू–१९ पुरुष टोलीसँग तीनवटा खेलको शृङ्खला खेल्ने कार्यक्रम छ । नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो । 

    विश्वकप छनोट खेल पनि मूलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृङ्खलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ । दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९ तारिखमा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij