काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को आधा समय सक्किसक्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा प्रदेश सरकारले कुल बजेटको १४.८२ प्रतिशत मात्रै खर्चिएको हो ।
यस आर्थिक वर्षका लागि सुदूरपश्चिमले कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आधा समय सकिँदासम्म कुल बजेटको १४.८२ प्रतिशत अर्थात् ४ अर्ब ६८ करोड ७० लाख ५ हजार मात्रै खर्च हुन सकेको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जनाएको छ ।
प्रदेश सरकारले चालुतर्फको १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार बजेट रहेकोमा २ अर्ब ८१ करोड ५८ लाख ५२ हजार अर्थात् २१.९० प्रतिशत मात्रै खर्च गरेको छ ।
यस्तै पुँजीगत खर्च १ अर्ब ८७ करोड ११ लाख अर्थात् ९.९८ प्रतिशत मात्रै खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
मन्त्रालयगत रूपमा खर्च स्थिति हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा बढी पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा १४ अर्ब १० करोड ६७ लाख ५२ हजार पुँजीगत बजेट छ । पौष मसान्तसम्म १ अर्ब ७४ करोड २ लाख ३५ हजार खर्च गरेको छ ।
त्यस्तै, २ अर्ब ९० करोड ३७ लाख ४३ हजार पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले ६ महिनाको अवधिमा ६ करोड ३० लाख मात्रै खर्च गर्न सकेको छ ।
८८ करोड ५० लाख ६१ हजार पुँजीगत बजेट रहेको प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १ करोड ९४ लाख ३४ हजार मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।