टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा भारतीय कप्तान रोहित शर्मा

टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा भारतीय कप्तान रोहित शर्मा

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा भारतीय कप्तान रोहित शर्मा

    काठमाडौं । भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिने भएका छन् । अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर टेस्ट शृंखलालगत्तै उनले सन्न्यास लिने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  

    बोर्डर–गावस्कर शृंखला अन्तर्गतको पाँचौँ तथा अन्तिम खेल जनवरी ३ तारिखमा अस्ट्रेलियाको सिड्नीमा खेलिँदै छ । भारतीय सञ्चारमाध्यमका अनुसार, अनुभवी ब्याट्सम्यान रोहितका लागि उक्त टेस्ट नै अन्तिम हुनेछ । 

    जारी बोर्डर–गावस्कर शृंखलामा रोहित शर्माको प्रदर्शन निराशाजनक रहेको छ । रोहितसँगै अर्का अनुभवी ब्याट्सम्यान विराट कोहलीको प्रदर्शन पनि बिर्सनलायक छ । त्यसैले यी दुवै अनुभवी खेलाडीको व्यापक आलोचना पनि भइरहेको छ ।

     पूर्वखेलाडीहरुले समेत रोहित र विराटको प्रदर्शनको आलोचना गरेका छन् । रोहितको कप्तानीमा भारतले जारी बोर्डर–गावस्कर शृंखला नजित्ने पक्का भइसकेको छ । शृंखलामा अस्ट्रेलिया २–१ ले अगाडि छ । अन्तिम टेस्ट भारतले जिते पनि शृंखला बराबरीमा सकिने छ ।

    यसअघि भारतले लगातार चारपटक बोर्डर–गावस्कर शृंखला जित्दै आएको थियो । यसका अतिरिक्त रोहितको कप्तानीमा भारत आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत नपुग्ने सम्भावना बढेको छ । 

    कप्तान रोहितले बोर्डर–गावस्क शृंखलाको पाँच पालीमा केवल ३१ रन बनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, आफ्नो सन्न्यासको विषयमा रोहितले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पदाधिकारीहरूसँग पनि छलफल गरिसकेका छन् ।

    बीसीसीआईका केही उच्च अधिकारीले भने रोहितलाई तत्काल सन्न्यास नलिन सुझाव दिएको समाचारमा जनाइएको छ । तर, रोहित भने आफ्नो निर्णयमा अडिग रहेको बताइएको छ । 

    तर, भारतीय टोली टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेमा रोहितको सन्न्यास केही समयका लागि लम्बिन सक्ने पनि समाचारमा दाबी गरिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij