काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो ‘क्वालिफायर’ खेल बिहीबार (आज) खेलिने छ । दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
दोस्रो ‘क्वालिफायर’ खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १:०० बजे सुरु हुनेछ । कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको हो ।
जनकपुर बोल्ट्स भने बुधबार नै खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो ‘क्वालिफायर’ खेल्न बाध्य भएको हो । दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो ‘क्वालिफायर’ को विजेता सुदूरपश्चिमसँग भिडन्त गर्नेछ ।
त्यसैले कर्णाली याक्स र जनकपुर बोल्ट्सबिचको दोस्रो ‘क्वालिफायर’ खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । कर्णाली याक्स प्रारम्भिक चरणको खेलबाट आठ अङ्क बटुल्दै तालिकामा चौथो भएर प्रतियोगिताको प्ले अफ चरणमा पुगेको हो ।
प्रारम्भिक चरणमा कर्णाली याक्सले आफूले खेलेको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । कर्णाली याक्स आफ्नो पहिलो खेलमै जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा पनि कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । त्यसपछि लयमा फर्किएको कर्णाली याक्सले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले र चौथो खेलमा विराटनगर किङ्सलाई सात रनले हराएको थियो ।
यसैगरी, कर्णाली याक्सले आफ्नो पाँचौँ खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले र छैटौँ खेलमा लुम्बिनी लायन्सलाई पाँच रनले हराएको थियो । आफ्नो अन्तिम खेलमा कर्णाली याक्स बलियो सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।
कर्णाली याक्स प्ले अफ चरणमा स्थान बनाउने अन्तिम टोली पनि बनेको थियो । कर्णाली याक्सले प्ले अफ चरणमा पुग्न ठुलै सङ्घर्ष गर्नु परेको थियो । कर्णाली याक्स र काठमाडौँ गुर्खाजको अङ्क बराबर थियो । त्यसैले अन्तिम खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ५५ रनभन्दा ठुलो अन्तरले पराजित भएको भए काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने अवस्था थियो ।
यसैगरी, प्रारम्भिक चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमै विजयलक्ष्य प्राप्त गरेको भए पनि कर्णाली याक्स उपाधि होडबाट बाहिरिने थियो र काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने थियो ।
तर, अन्तिम समयमा काठमाडौँ गुर्खाजलाई जिल्याउँदै कर्णाली याक्स राम्रो नेट रन रेटका आधारमा प्ले अफ चरणमा पुग्न सफल भयो । त्यसैले एनपीएलको पहिलो संस्करणमा कर्णाली याक्स भाग्यमानी टोलीको रूपमा उदाएको छ ।
जनकपुर बोल्ट्सले तेस्रो खेलमा पोखरा एभेन्जर्समाथि सात विकेटको जित हासिल गरेको थियो । चौथो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । पाँचौँ खेलमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।
यसैगरी, आफ्नो छैटौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । लिग चरणको आफ्नो अन्तिम खेलमा भने जनकपुर बोल्ट्सको टोली चितवन राइनोजसँग ३२ रनले पराजित भएको थियो ।