घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

    घोराही  । घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उनले बताए ।

    “अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ”, सञ्चालक गौतमले भने । साढे सात सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उनले बताए । छिट्टै सञ्चालनमा आउन लागेकोे जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ ।

    स्काई साइक्लिङ भने १ सय ५५ मिटर लामो रहने छ । घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र  स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उनले बताए । हालसम्म १ करोड रुपैयाँ बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ । 

    घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि १ हजार ८ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij