काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन पनि दुई खेल हुनेछन् ।
पहिलो खेल कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा दोस्रो खेल विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
कर्णाली र काठमान्डुबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले यसअघि पहिलो खेलमा हार व्यहोरेकोले पहिलो जित निकाल्ने लक्ष्यमा छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । अर्कोतर्फ काठमान्डु चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स र करण केसीको कप्तानीमा रहेको काठमान्डुबीच खेल रोमाञ्चक हुने अपेक्षा छ ।
यसैगरी यसअघिका दुवै खेलमा पराजित विराटनगर किंग्स लुम्बिनीसँग खेल्दा दबाबमा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर यसअघि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्ससँग पराजित भइसकेको छ ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने पहिलो खेल खेल्दैछ र विजयी सुरुवात गर्न चाहन्छ ।