नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा........

नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा........

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा........

    खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र  जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिए । “शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ । उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ”, उनले भने, “पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्षमताका छन् । त्यसैले उनीहरू दुवै जनालाई पक्राउ गरेर कारबाहीका प्रक्रिया अगाडि बढाएका छौँ ।”

    शहीद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख छैन ।

    पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद रु १७ हजार सात सय ६० बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरूले एक जना व्यक्तिबाट बढीमा रु एक हजारसम्म सहयोग रकम भनेर लिएको देखिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनीहरू दुवै जनामाथि कीर्ते जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij