काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालबहाक ट्रक किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । शुक्रबार विहान आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगती टोलमा पल्टिएको थियो ।
लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो ।
ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । दुर्घटनामा परी ज्योती गम्भीर घाइते छन् । ढुंगाले थिचिएका उनलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ ।शुक्रबार बिहान ७ बजे मार्बल बनाउने कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी किराना पसलमा पल्टिएको थियो । पल्टिएको लहरीमा लोड गरिएको ढुंगाले थिचेर ३ जना बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।