कृष्णपुर नगरपालिकाले आफ्नै स्रोतमा ४५ किमी  सडक स्तरोन्नति गर्दै

कृष्णपुर नगरपालिकाले आफ्नै स्रोतमा ४५ किमी  सडक स्तरोन्नति गर्दै

बिहिवार, फाल्गुण १० २०८०
बिहिवार, फाल्गुण १० २०८०
  • कृष्णपुर नगरपालिकाले आफ्नै स्रोतमा ४५ किमी  सडक स्तरोन्नति गर्दै
     
     
    कञ्चनपुर ।  कृष्णपुर नगरपालिकाले नौवटै वडाका सडक स्तरोन्नतिको काम  थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रत्येक वडामा पाँच–पाँच किलोमिटर गरी ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने निर्णयअनुसार कार्य अगाडि बढाएको हो ।
     
    नगरपालिकाकै साधनस्रोतको प्रयोग गरी ‘ग्राभेल’ गर्ने र कालोपत्र गर्ने काम अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । “वडा नं ९ को पाग्रेचोकबाट सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ,” उनले भने, “थोरै खर्चमा सडक स्तरोन्नतिको काम गरिरहेका छौँ ।” उनका अनुसार वडाको छनौटमा परेका सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ । 
     
    “पाँच किलोमिटर सडक स्तरोन्नति  गर्दा प्राविधिकको अनुमानित लागतअनुसार रु १० लाखभन्दा बढी लाग्छ,” नगर प्रमुख ओझाले भने, “नगरपालिकाकै लोडर, रोलर, टिपर प्रयोग गरी न्यून खर्चमै सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ ।” यसरी सडक स्तरोन्नति गर्दा नदीजन्य पदार्थको सलामी दस्तुर तिर्ने, चालकलाई खाना, खाजा भत्ताबापतको रकम उपलब्ध गराउने र ढुवानीका साधनमा इन्धनको व्यवस्था गरिने उनले जानकारी दिए । 
     
    ठेक्का र उपभोक्ता समितिमार्फत हुने कार्यभन्दा कम लागतमा सडक स्तरोन्नतिको कार्य गरी नगरबासीको सुविधाका  लागि सडक निर्माण हुने भएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । उनले नगरपालिकाका नौवटै वडामा हुने सडक स्तरोन्नतिको कार्यले सर्वसाधारणको आवागमनमा सुविधा पुग्ने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij