२ करोड लागतमा चार सिँचाइ आयोजना सुरु

२ करोड लागतमा चार सिँचाइ आयोजना सुरु

बुधवार, फाल्गुण ९ २०८०
बुधवार, फाल्गुण ९ २०८०
  • २ करोड लागतमा चार सिँचाइ आयोजना सुरु

    इलाम । इलामको माङसेबुङ गाउँपालिकामा २ करोड ३३ लाख ६७ हजार रुपैयाँको लागतमा चार वटा सिँचाइ आयोजना सुरु भएको छ ।


    माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मंगलबार अपराह्न शिलान्यास गरेका हुन् ।

    गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।

    ९४ घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुई वटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा ९३ लाखको लागतमा लम्फेवा खोलाबाट निवाघारी र ५५ लाख ६८ हजार रुपैयाँको लागतमा सोही खोलाबाट लामपाते कुलो निर्माण सुरु भएको छ ।

    यसैगरी, नाङरुङमा ३९ लाख २१ हजार रुपैयाँको लागतमा फुङखोलाबाट घुमाउँरो पाक्रुम्बा कुलो र खोलागाउँमा ४५ लाख ७८ हजार रुपैयाँको लागतमा फेवाखोलाबाट बाह्रमुरे कुलो निर्माण सुरु भएको वडाध्यक्ष योङहाङले बताए ।

    ‘वर्षौँदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका वडाका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, समयमै आयोजना सम्पन्न गर्न तीव्रता दिइनेछ,’ वडाध्यक्ष योङाहाङले भने, ‘आयोजना पूरा भएपछि यहाँका ९४ किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।’

    सिँचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको छ । योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

    गतवर्ष सोही वडामा २ करोड १४ लाख रुपैयाँको लागतमा चार वटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन् । पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा निर्मित सिँचाइ कुलोबाट एक सय ३७ किसान लाभान्वित भएका छन् ।

    सिँचाइ सुविधा पुगेपछि धान उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । कृषि ज्ञान केन्द्र इलामको तथ्यांकअनुसार यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । इलाममा रञ्जित, राधा चार, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ ।

    युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij