काठमाडौं । भारत नयाँदिल्ली सरकारका परिवहन मन्त्री कैलाश गहलोतले मन्त्री पद र आम आदमी पार्टी (आप) बाट राजीनामा दिएका छन् । उनले आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई सम्बोधन गर्दै राजीनामा दिल्लीका मुख्यमन्त्री आतिशीलाई बुझाएका हुन् ।
उनले मन्त्री र आम आदमी पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको जनाइएको छ ।
राजीनामा पत्रमा कैलाश गहलोतले आम आदमी पार्टी आज ठूलो चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरेका छन्। गहलोतले लेखेका छन्, ‘जनताप्रतिको हाम्रो प्रतिबद्धताको सट्टा राजनीति हाबी भएको छ। यमुना नदी सफा गर्नेजस्ता धेरै वाचा पूरा हुन सकेनन्।’
उनका अनुसार अहिले यमुना नदी पहिलेको भन्दा बढी प्रदूषित भएको छ। गहलोतले आरोप लगाउँदै भने, ‘हामी जनताका मुद्दामा लड्नुको सट्टा राजनीतिक एजेन्डामा मात्र लडिरहेका छौँ। अब यो स्पष्ट छ कि आम आदमी पार्टीको सरकारले आफ्नो अधिकांश समय केन्द्र सरकारसँग लड्दै दिल्लीको वास्तविक विकासलाई अगाडि बढाउन सक्दैन।’
उनले आफ्नो राजनीतिक करियर दिल्लीका जनताको सेवा गर्ने प्रतिबद्धताका साथ सुरु गरेको भन्दै त्यसलाई जारी राख्ने बताएका छन् । तर, धेरै समय केन्द्र सरकारमा बिताउँदा आम आदमीले दिल्लीको सही विकास गर्न नसक्ने भन्दै उनले मन्त्री र आम आदमी पार्टीको सदस्यता त्याग्नु उचित हुने बताएका छन् ।