पनौतीको चामखरमा पर्यटकको चहलपहल

पनौतीको चामखरमा पर्यटकको चहलपहल

मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • पनौतीको चामखरमा पर्यटकको चहलपहल
    धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ को अग्लो डाँडा चामखरमा पछिल्लो समयमा पर्यटकको चहलपहल बढेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ थापागाउँका महेश थापाले दुई महिनाअघि देखि ‘भ्यू प्वाइन्ट रिसोर्ट’ सञ्चालनमा ल्याएपछि अचेल दैनिक चामखर पुग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
     
    अग्लो डाँडामा चिटिक्कको घर, त्यसैको मूलढोकाअघि फरफराइरहेको छ दज्र्यु (बौद्ध धर्मका मन्त्र लेखिएको झन्डा)। वरिपरिका मनोरम दृश्यावलोकन गर्दै आनन्द लिएर स्थानीय उत्पादनबाट तयार पारिएका परिकार खानका लागि पर्यटकको चाहनाको केन्द्र बनेको छ । दश वर्ष विदेशी भूमिमा पसिना बगाएर आफ्नै गाउँ फर्कनुभएका उनले रिसोर्ट सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको काममा लागेका हुन् । स्वदेशमा आएर केही गरौँ भन्ने तयारीमा लाग्दै जाने क्रममा रिसोर्ट सञ्चालन गर्न थालेको उनले बताए । विदेश जानुअघि ट्राभल एन्ड टुरिजममा केही अनुभव बटुली सकिएका उनले पछिल्लो समयमा लोप हुन लागेको रैथाने बाली संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले रिसोर्ट सञ्चालन गरेको बताए । स्थापित हुन समय धेरै लाग्ने भए पनि त्यस क्षेत्रमा योगदान दिन बामे सर्दै गरेको उनको भनाइ छ ।
     
    विदेशमा हुँदा धेरै योजना बुनेर गाउँ फर्कने र यहाँका विभिन्न गतिविधिले फेरि सुटकेस बोकेर विमानस्थलमा छोराछोरी र श्रीमती रुवाएर पुनः जानुपर्ने बाध्यता रहेकामा अब त्यसरी जादैँ, केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफूले व्यवसाय सुरु गरेको उनले सुनाए। करिब १५ लाख लगानीमा जग्गाधनी सुकराम तामाङसँग समन्वय गरेर थालनी गरेको काममा स्थानीय पाँचजनालाई रोजगार दिएका छन् । थापाले व्यवसाय सुरु गरेपछि गाउँमा नै काम गर्ने अवसर पाएका मीना तामाङले रिसोर्ट सञ्चालनले थप उत्साह पैदा भएको बताए । 
     
    “गाउँको नजिकै काम गर्ने अवसर पाएको छु, निकै खुसी छु,” उनले भने, “सुरुमा भनेजस्तो सेवासुविधा नपाए पनि पछि बिस्तारै वृद्धि हुँदै जाने आशा पलाएको छ ।” अहिले सो रिसोर्टमा उनीसँगै अन्य चारजनाले रोजगारी पाएका छन् । घरबास तरिकाको रिसोर्टमा पछिल्लो समयमा जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सो ठाउँमा पुगेपछि पर्यटकीयस्थल नगरकोट, नमोबुद्ध, धुलिखेल, फुल्चोकीडाँडालगायत हिमशृङ्खला अवलोकन गर्न सकिने भएकाले सो डाँडामा व्यवसाय सुरु गरेको उनले बताए ।
     
    रिसोर्टमा स्थानीय किसानले उत्पादन गरेको चामल, मकै, गुन्द्रुक, साग र स्थानीय कुखुरालायत उत्पादनको स्वाद लिन सकिने गरी सेवा दिने गरिएको छ । गाउँलेले उत्पादन गरेको सबै प्रकारका खाद्यान्नवस्तु आफूले खरिद गरिदिने गरेको र त्यही अनुसारको मूल्य तिरेर खरिद गर्दा किसान पनि खुसी हुने उनले बताए। पाँचवर्षे योजना बनाएर काम गरिरहेको बताउने उहाँले थप संरचना निर्माण गर्ने, बगैँचा बनाउने र स्थानीय उत्पादन खरिदसँगै आफैँले पनि उत्पादन गर्ने तयारीमा रहेको योजना सुनाए ।
     
    उनले पाँच वर्षभित्रमा कम्तीमा २० जनालाई रोजगारी दिने गरी अगाडि बढेको बताउछन् । त्यहीँ पुगेर बस्न चाहनेका लागि चारवटा कोठा रहेका छन्भने सामूहिक रुपमा बस्न चाहनेका लागि २० जनासम्मलाई आवासको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उनले बताए । पनौतीबाट साँगा निस्कने हाइकिङ रुट पनि भएकाले चामखरमा पुग्नेका लागि उक्त रिसोर्ट केन्द्रमा पर्ने गरेको त्यहाँ पुग्नेहरु बताउँछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij