काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार बनाउन दिने र नदिने पक्षबीचमा झडप हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु रहेका छन् । उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।
सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली पनि सामान्य घाइते भएका छन् । शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।
तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनुहुँदैन भन्ने समूहका व्यक्तिहरूले ढुंगा हान्न थालेको जनाइएको छ ।
अहिले स्थितिमा नियन्त्रणमा आइसकेको छ । यद्यपि, दुवै पक्षका व्यक्तिहरु घटनास्थल आसपासमै छन् ।