मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै

मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै

आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै

    काठमाडौं । मिथिलाञ्चलका दिदीबहिनीले आइतबार आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन्। कार्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ। मिथिलामा यस पर्वलाई भरद्वितीया र भातृद्वितीया पनि भनिन्छ। 

    अविवाहित दिदीबहिनी र दाजुभाइले आफ्नै घरमै यो पर्व मनाउँछन्। विवाहित दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्छन्।

    यमपञ्चकमा पर्वत मूलका र मैथिल हिन्दूको पर्व मनाउने विधि केही फरक भएपनि पौराणिक कथावस्तु भने एउटै देखिन्छ। सत्ययुगमा राजा बलिका बहिनीहरू गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको सन्दर्भ नै यो पर्वको आधार परम्परा रहेको मिथिलाकासाहित्यकार डा. राजेन्द्र विमल बताउँछन्।

    मैथिल परम्पराको भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ। विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन्। पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन्। टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले  धोइन्छ। यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइ दिने परम्परा छ। 

    यो विधि सम्पन्न भएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति  दाजुभाइको होस्भन्दै गीतबाट भाव व्यक्त गर्दछन्। यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चपाउन दिइन्छ।  ‘बजरी’  ख्वाइने भनिने यो विधिमा साह्रो केराउलाई बज्रसँग तुलना गरेर ‘बजरी’ भनिएको विमलले जानकारी दिए। 

    बजरी ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको बताइन्छ। यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखी दिन्छन्। दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन्। यो विधि मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधारमा द्वितीया तिथिबाट शुभसाइत निकालिन्छ। 

    मिथिलाञ्चलभरिका गाउँ-शहरको चौबाटामा आज एकाबिहानै विभिन्न लोकगीत र नाचगान गर्दै दिदीबहिनीहरूले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गर्ने चलन छ।

    दिदीबहिनीहरुले ओखलमा गोबरसँगै कुटिएको केराउका दाना गोबरबाट झिकेर धोई पखाली आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाउने गर्दछन्। दिदीबहिनीले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भने भनाइका साथ दाजुभाइलाई आँगनमा बसाइँ माला, फूल, चन्दन लगाएर बजरी खुवाएर भैयादुज पर्व मनाउने परम्परा यहाँ चलेको बताइन्छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij