काठमाडौं । विमानस्थल वरिपरि बाक्लो तुवालो लागेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा २ दिनदेखि उडान अवरुद्ध भएको छ । शनिबार र आइतबार निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न सकेका छैनन् ।
तुम्लिङटारमा उडान नभएपछि दैनिक ६५ भन्दाबढी यात्रु अलपत्र पर्ने गरेका छन् । बाक्लो तुवालोका कारण उडानका लागि भिजिविलिटी कम भएपछि दैनिक उडानहरु अवरद्ध हुँदै आएको तुम्लिङटार विमानस्थलले जनाएको छ ।
उडानका लागि कम्तिमा ३५ सय देखि ५ हजार मिटर भिजिविलिटी आवश्यक पर्छ । विमानस्थल वरपरको भिजिविलिटी अहिले १ हजारमात्र रहेको छ ।
जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् भने कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन् । तुम्लिङटार विमानस्थलमा बुद्धको एटिआर ७२ ले दैनिक उडान भर्दै आएको थियो ।