काठमाडौं । भारतसहित विश्वका तीन देशका गर्भनरहरुले विश्वकै उत्कृष्ट बैंकर अथात् ‘ए प्लस’ ग्रेड पाएका छन् । अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४को लागि १०१ देशहरूको रिपोर्ट कार्ड सार्वजनिक गरे अनुसार ३ देशका गभर्नरले समान ‘ए प्लसं’ ग्रेड पाएका हुन्।
जसमा डेनमार्क केन्द्रीय बैंक गभर्नर क्रिष्टियान केटेल थोमसन, भारतीय केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास र स्विजरल्याण्ड केन्द्रीय बैंक गभर्नर थोमस जोर्डन छन्। उनीहरूलाई मुद्रा स्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलता हासिल गर्न सफल भएको कारण ‘ए प्लस’ ग्रेड दिइएको म्यागेजिनले जनाएको छ।
सबैभन्दा राम्रो प्रदर्शन गरेकोमा तीन बैंकले ग्रेड ए प्लस’ पाउँदै गर्दा दुई देशले भने सबैभन्दा खराब ग्रेड प्राप्त गरेका छन्। उनीहरूले ‘एफ’ग्रेड पाएका हुन्। ‘एफ’ ग्रेड पाउनेमा म्यानमार र भेनेजुएलाका गभर्नर परेका छन्।
नेपालका गभर्नरले भने ‘सी प्लसं’ प्राप्त गरेका छन्। मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्न नेपाल राष्ट्र बैंकले गत वर्ष मौद्रिक नीतिमा कडाइ गरेको थियो। उसले नीतिगत दर बढायो र कोभिड–१९ महामारीको समयमा अत्यधिक ऋण दिएका बैंकहरुलाई ऋण बिस्तारमा रोक लगायो। जसका कारण ऋण बिस्तार घट्यो। ऋण बिस्तार असाध्यै थोरै हुनु र समग्र मागमा कमी आउनुका कारण आर्थिक ग्रोथ समेत घटेको कारण अधिकारीलाई ग्रेड ‘सी प्लसं’ दिइएको म्यागेजिनले जनाएको छ।
ग्लोबल फाइनान्स म्यागेजिनका अनुसार उनीहरूले प्रदान गर्ने ग्रेड मुद्रा स्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलता हासिल गर्नेहरूलाई ‘A+ देखि ‘F’ सम्मको ग्रेड प्रदान गर्ने गरिन्छ। ‘A+ ग्रेडलाई सबैभन्दा उत्कृष्ट प्रदर्शन र ‘F’ त्यस्तो गभर्नरलाई दिइन्छ,जो पूर्ण रुपमा असफल हुन्छन्।
म्यागेजिनका अनुसार ग्लोबल फाइनान्सको वार्षिक सेन्ट्रल बैंक रिपोर्ट कार्ड ती बैंक गभर्नरलाई सम्मान दिइन्छ जसका रणनीतिले मौलिकता, रचनात्मकता र दृढताका माध्यमबाट आफ्ना समकक्षी बैंक भन्दा राम्रो प्रदर्शन गरेका हुन्छन्।