भक्तपुर । यहाँको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले हालैको बाढीपहिरो तथा डुबान प्रभावितलाई सरकारले उपलब्ध गराएको ३ लाख रुपैयाँ रकमसहित अन्य सामग्री वितरण गरेका छन् ।
पहिरोमा पुरेर घरभित्रमा परी ज्यान गुमाएका मृतकका आफन्तलाई सङ्घीय विपद् व्यवस्थापन कोष र प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराएको राहत रकमसहित राहत सामग्री लिएर उहाँ आफैँ पहिरोपीडितको बासस्थान पुगेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रजिअ श्रेष्ठले सूर्यविनायक नगरपालिका–८ स्थित आशापुरी नैचालमा पहिरोमा परेर मृत्यु भएका प्रतिमा तामाङका परिवारलाई ३ लाख रुपैयाँ र मृतक सुकुमाया तामाङको श्रीमान् तथा छोराहरुलाई ३ लाख रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।
यही असोज १२ गतेकै पहिरोमा परेर कालीकोट सानो त्रिवेणी–५ घर भई सूर्यविनायक –९ पलाखे बस्ने मृतक दमिला शाही र निजको छोरी प्रिया बमको दुई जनाको परिवारलाई ३ लाख रुपैयाँ गणेश बमको बैंक खातामा जम्मा गरिदिएको प्रजिअ श्रेष्ठले जानकारी दिए ।
त्यस्तै पहिरोमा परेर घाइते हुनुभएका सानु तामाङ र कान्छा तामाङको भने भक्तपुर अस्पतालमा निःशुल्क उपचार गरी राहतस्वरुप १५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराएको उनले जानकारी दिए । मृतक परिवारलाई प्रजिअ श्रेष्ठले मृतक परिवारलाई तत्काल बासस्थानका निर्माणका लागि दुई वटा टेण्डर, तीन वटा त्रिपाल र भाँडाकुँडा दुई सेट हस्तान्तरण गरेका छन् ।
त्यसैगरी सूर्यविनायक नगरपालिकाले पनि सोही पहिरोमा परी ज्यान गुमाउने पाँच जनाकै परिवारलाई रु एक लाखको दरले राहत रकम प्रदान गरेको छ । नगर प्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराईसहित गएका जनप्रतिनिधि टोलीले पीडितका बासस्थानमै पुगेर तामाङ परिवारलाई जनही रु एक लाखको दरले रकम हस्तान्तरण गरेका हुन् ।
विस्थापितलाई टेन्ट र भाँडाकुँडा वितरण गरिइएको थियो । जिल्लामा ४० घर अझै पहिरोको उच्च जोखिममा रहेको जनाउँदै सात घरपरिवारलाई अन्यत्रै सारिएको प्रजिअ श्रेष्ठले जानकारी दिए ।