काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ओमान बिरुद्ध ५६ रनको जित हात पारेको हो ।
नेपालले दिएको एकसय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ दशमलव पाँच ओभरमा एकसय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकीब इलियासले २२ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलको उत्कृष्त प्रदर्शन गर्दै अर्ध सतक बनाएका थिए । पौडेलले ४४ बलमा २ चौका र चार छक्कासहित ५६ रनको योगदान दिए ।
ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सान झा २ र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए । नेपालका कुशल भुर्तेलले तीन विकेट लिए । त्यसैगरी रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।
यो जितसंगै चार अंक रहेको नेपाल अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ । समान चार अंक रहेको क्यानाडालाई आज राती हुने अन्तिम खेलमा ओमानले हराए नेपालले सिरिज जित्ने छ । ओमानको भने दुुई अंक छ ।