बाढीपहिरोमा परेर काभ्रेमा सबैभन्दा बढी ६२ को मृत्यु, चार जना बेपत्ता

बाढीपहिरोमा परेर काभ्रेमा सबैभन्दा बढी ६२ को मृत्यु, चार जना बेपत्ता

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • बाढीपहिरोमा परेर काभ्रेमा सबैभन्दा बढी ६२ को मृत्यु, चार जना बेपत्ता

    काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट सबै भन्दा बढी जनधनको क्षति काभ्रेमा भएको छ । पछिल्लो बाढी पहिरोमा परेर काभ्रे जिल्लामा ६२ जनाको मृत्यु भएको छ । थप चार जना बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घटनामा परेर २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक बालकको मृत्यु भएको छ । 

    यसैगरी, मण्डनदेउपुरमा चार महिलासहित आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको कार्यालयले जनाएको छ । बेथानचोक गाउँपालिकामा मृतक सातमध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँचमध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक–एक, बनेपा नगरपालिकामा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ ।

    भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो । पाँचखाल नगर तथा खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन । बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । 

    बाढीपहिरोले खानेपानी आपूर्तिमा समस्या

    अविरल वर्षाका कारण बाढीपहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल, बनेपा र पनौती नगरमा खानेपानी आपूर्तिमा कठिनाइ भएको छ । खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी पानी नियमित हुन नसकेको नेपाल खानेपानी संस्थान बनेपा शाखाले जनाएको छ ।
     
    धुलिखेल र बनेपा नगरमा सञ्चालित एकीकृत खानेपानीको मुहान पनौतीको रोशी तथा बनेपाको शशिपानीमा खानेपानीको मुहानमा बाढीका कारण क्षति पुगेपछि सो क्षेत्रमा खानीपानीको अभाव भएको हो । संस्थानका सूचना अधिकारी होमप्रसाद चौलागाईँका अनुसार बनेपामा ल्याइरहेको दुवै मुहान तथा ‘मिनरल’ आयोजनासमेत बन्द भएको छ ।
     
    स्थानीय तहद्वारा राहत घोषणा

    विपद्पछि खोज, उद्धार तथा राहतका लागि धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने तयारी गरेका छन् । धुलिखेल नगरले नगर क्षेत्रभित्र बाढीपहिरोबाट क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराउन एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

    यसका लागि नगरले मानवीयलगायत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रत्येक वडामा प्राविधिकसहितको टोली परिचालन गरेको छ । यसैगरी मण्डनदेउपुर नगरले मृतक परिवारलाई ५० हजारका दरले आर्थिक सहयता गर्ने निर्णय गरेको छ । नगरले घाइतेलाई निःशुल्क उपचार गरिरहेको छ ।

    बनेपा नगरले तत्काल वडामा विपद् व्यवस्थापन समितिमार्फत क्षतिको विवरण सङ्कलन गरी सोही विवरणका आधारमा विपद्मा परी मृत्यु हुनेका परिवारलाई जनही ३० हजार, घाइतेलाई २० हजार, पूर्ण क्षति भएको घरलाई १० हजार उपलव्ध गराउँने भएको छ ।

    त्यसैगरी गोठलाई पाँच हजार, उच्च जोखिममा परेका घरलाई पाँच हजार, पूर्ण रूपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई १० हजार, दुहुनो गाई वा भैँसी मरेकाको परिवारलाई १० हजार र बाछाबाछी बाख्राको हकमा भने प्रतिगोटा पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij